
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।
आज नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले संविधानमाथि छेडखानी गरेर जनताका अधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘हामीले के भनेका छौं भने यदि यो संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, रचनात्मक र सकारात्मक राम्रो काम गर्दा हामी त्यसलाई सकारात्मक नै ढङ्गले हेर्छौं । तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं । संविधान संशोधनका हामी विरोधी त छैनौं । तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुनपर्यो, जनतालाई अधिकार थप्नको लागि हुनपर्यो, खोस्नलाई होइन ।’
जनतालाई अधिकार थप्नको लागि संविधान संशोधन गर्ने हो भने नेकपा तयार भएको उनले बताए ।



प्रतिक्रिया